वीरगञ्ज । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको सहयोगमा पटेर्वासुगौली गाउँपालिका–५ निचुटा माविमा सञ्चालनमा रहेको दुई महिने इलेक्ट्रिसियन तालीम सहभागीहरूको न्यून उपस्थितिका कारण विवादमा तानिएको छ ।
वैशाख ३ गतेदेखि असार २ गतेसम्म सञ्चालन हुने भनिएको उक्त तालीमका लागि २० जनाले आवेदन दिएका भए पनि हाल दैनिक दुईदेखि तीन जना मात्रै उपस्थित हुने गरेको पाइएको छ ।
३९० घण्टा प्रशिक्षण अवधि तोकिएको कार्यक्रममा प्रशिक्षक भरतकुमार ठाकुर र नित्यानन्द दासले नियमित उपस्थिति जनाउँदै आए पनि सहभागी सङ्ख्या न्यून रहेको बुझिएको छ ।
तालीमको आयोजनाको जिम्मेवारी लिएको क्रियटिभ स्किल्स प्रालि वीरगञ्जले दैनिक ६ घण्टा तालीम सञ्चालन गर्नुपर्नेमा हाल मात्र दुई घण्टा प्रशिक्षण दिइएको सहभागीहरूले बताएका छन् ।
स्थानीय स्रोतका अनुसार, सहभागी नभएकाहरूको पनि हाजिरी घरमै पुर्याएर गराइने र दैनिक २० जनाको उपस्थिति देखाउने कार्य भइरहेको छ । यसबाट सहभागी नहुँदा पनि आर्थिक लाभ लिने प्रयास भएको आशङ्का गरिएको छ ।
तालीम वैदेशिक रोजगारमा जाने युवा वर्गलाई सीपयुक्त बनाउने उद्देश्यले संघ सरकारको आयोजनामा सञ्चालन गरिएको हो । तर, पालिका तथा प्रदेश स्तरबाट सञ्चालन गरिने अन्य कार्यक्रमहरूमा खाना, खाजा, पारवहन खर्च र भत्ता दिइने हुँदा कार्यक्रममा सहभागिता अत्यधिक देखिएको जनाइएको छ ।
सामाजिक विकासका लागि सञ्चालन गरिने कार्यक्रमहरूप्रति स्थानीयको उत्साह देखिए पनि सीपमूलक तालीमप्रति चासोको अभाव, पारदर्शिता र अनुगमनको कमीले गर्दा यस्ता कार्यक्रमको उपादेयता माथि प्रश्न उठ्न थालेको छ ।
सहभागिता न्यून भएको, तालिम अवधि घटाइएको, र हाजिरी प्रक्रियामा अनियमितता भएको आरोपको सन्दर्भमा सम्बन्धित निकायले तत्काल छानबिन गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउनु पर्ने स्थानीयहरू तथा सामाजिक विश्लेषकहरूको माग छ ।