×

वीरगञ्ज । वीरगञ्जको सीमावर्ती भारतीय सहर रक्सौलमा चर्चित व्यवसायी मोहम्मद कलीममाथि भारतको आयकर विभाग र प्रवर्तन निर्देशनालय (ईडी) को संयुक्त छापामारी ३० घण्टाभन्दा बढी समयदेखि निरन्तर जारी रहेको छ ।

शनिवार बिहान ६ बजेदेखि सुरु भएको कारबाहीलाई रक्सौलको इतिहासकै सबैभन्दा ठुलो कर छानबिनका रूपमा लिइएको छ ।

आयकर स्रोतका अनुसार कलीमको अवैध कारोबार भारत–नेपाल सीमासँगै विदेशसम्म फैलिएको आशङ्काका आधारमा छापामारी गरिएको हो । विगत ६ महिनादेखि उनको गतिविधिमाथि निगरानी राख्दै आएको आयकर विभागले ईडीसँग सहकार्य गर्दै अनुसन्धानको दायरा विस्तार गरेको बताइएको छ ।

छापामारीमा करिब ३६ वटा सवारी साधन र १५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । सम्पूर्ण कारबाही निर्देशक तहकी एक महिला अधिकारीको नेतृत्वमा भइरहेको जनाइएको छ । कलीमको घर र व्यावसायिक प्रतिष्ठानसँगै उनका आफन्त, नजिकका सहयोगी तथा चार्टर्ड एकाउन्टेन्टको घरमा समेत गहन जाँच भइरहेको छ ।

सुरक्षाका लागि आइतबारदेखि अर्धसैनिक बल एसएसबीका जवानहरू तैनाथ गरिएका छन् । सडकदेखि पसल तथा प्रतिष्ठानसम्म कडाइका साथ सुरक्षा व्यवस्था मिलाइएको छ ।

छापामारीका क्रममा ठुलो परिमाणमा नगद, गरगहना तथा जग्गा खरिदसम्बन्धी कागजातहरू फेला परेको आयकर स्रोतले जनाएको छ । बरामद नगदमध्ये २ हजार दरका पुराना नोटसमेत रहेको बताइएको छ । यद्यपि, छापामारी जारी रहेकाले आधिकारिक रूपमा कति नगद र कस्ता कागजात बरामद भए भन्ने विवरण सार्वजनिक गरिएको छैन ।

छापामारी सम्पन्न भएपछि मात्र यस प्रकरणको सम्पूर्ण विवरण सार्वजनिक गरिने आयकर अधिकारीहरूले जनाएका छन् ।

Back to top