वीरगञ्ज । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट रिमा कुमारी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
वीरगञ्ज महानगरपालिका – २९ मुसौली निवासी तथा एमाले नेता प्रद्युम्न यादवकी श्रीमती रिमा कुमारी यादवलाई पार्टीले औपचारिक रूपमा टिकट प्रदान गरेको हो । पार्टीले उम्मेदवारी पत्र हस्तान्तरण गर्दै उनलाई निर्वाचनमा अघि बढाउने घोषणा गरेको छ ।
उक्त कार्यक्रममा मधेस प्रदेश कमिटी अध्यक्ष चन्देश्वर मण्डल, उपाध्यक्ष बिचारी यादव, नेता बासुदेव यादव, लियाकत अली लगायतका वरिष्ठ नेताहरू उपस्थित थिए । नेताहरूले रिमा कुमारी यादवको उम्मेदवारीले क्षेत्रमा मतदातासँग प्रत्यक्ष सम्पर्क बढाउने र पार्टीको एजेन्डा प्रभावकारी रूपमा अघि बढाउने बताएका छन् । उनीहरूका अनुसार निर्वाचनमा जातीय समन्वय, स्थानीय विकास र सामाजिक सेवालाई प्रमुख प्राथमिकतामा राखिने छ ।
पार्टी स्रोतका अनुसार यसअघि पर्सा – २ बाट एमालेका केन्द्रीय सदस्य तथा वीरगञ्जका पूर्व मेयर विजयकुमार सरावगीलाई उम्मेदवार बनाउने प्रयास भएको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि सरावगीलाई निर्वाचन लड्न दबाब दिएका थिए । तर सरावगीले कुनै पनि हालतमा प्रतिनिधिसभा निर्वाचन नलड्ने अडान लिएपछि रिमा यादवलाई टिकट दिइएको हो ।
सरावगी आगामी स्थानीय तह निर्वाचनमा पुनः वीरगञ्ज महानगरको मेयर पदमा उम्मेदवारी दिने तयारीमा छन् । यसअघिको निर्वाचनमा उनी जसपा नेपालका राजेशमान सिंहसँग पराजित भएका थिए ।
यसैबिच, एमालेले पर्सा क्षेत्र नम्बर १ बाट पूर्व मन्त्री तथा निवर्तमान सांसद प्रदीप यादवलाई पनि उम्मेदवार बनाएको छ । आइतबार राति मात्र उपेन्द्र यादवको जसपा नेपाल परित्याग गरी एमालेमा प्रवेश गरेका प्रदीप यादवलाई पार्टीले सोही क्षेत्रबाट टिकट दिएको हो ।
त्यस्तै पार्टीले पर्सा – ३ मा पूर्व मन्त्री तथा मधेसका प्रदेशसभा सदस्य प्रमोद जयसवाल र पर्सा – ४ बाट जगरनाथपुर गाउँपालिकाका पूर्व अध्यक्ष जालिम मियाँलाई टिकेट दिएको छ ।