×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२६ मा सार्वजनिक पोखरी र कुलो अतिक्रमण गरी धर्मशाला निर्माण कार्य अघि बढाइएको भन्दै स्थानीय स्तरमा विवाद चर्किएको छ । सार्वजनिक सम्पत्तिमाथि हस्तक्षेप गर्दै संरचना निर्माण गरिएको आरोप वडा अध्यक्ष शम्भु मिश्रमाथि लागेको हो ।

साबिक सुगौली दापु वडा नम्बर १ अन्तर्गत पर्ने उक्त क्षेत्रमा सरकारी नापी नक्सामै पोखरी र कुलो उल्लेख रहेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार कित्ता नम्बर ४२ मा सार्वजनिक पोखरी तथा कित्ता नम्बर १८८ मा पैनी/कुलो कायम रहेको छ । तर, सो सार्वजनिक संरचना पुरेर धर्मशाला निर्माण गर्न खोजिएको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका छन् ।

स्थानीयवासीले वडा अध्यक्ष मिश्रले राजनीतिक पहुँच र शक्तिको आडमा सार्वजनिक सम्पत्तिमाथि हस्तक्षेप गर्दै कानुन विपरीत निर्माण कार्य गराइरहेको आरोप लगाएका छन् । उनीहरूका अनुसार मधेस प्रदेश सरकारको बजेटमार्फत पूर्वाधार विकास कार्यालयबाट निर्माण कार्य सञ्चालन भइरहेको बुझिएको छ ।

नेपालको प्रचलित कानुनअनुसार सार्वजनिक पोखरी, कुलो, ताल तलैया तथा अन्य जलस्रोत अतिक्रमण गर्न, पुर्न वा निजी प्रयोजनमा प्रयोग गर्न पाइँदैन । तर, जनप्रतिनिधिकै संरक्षणमा प्राकृतिक स्रोत तथा सार्वजनिक सम्पत्ति मास्ने काम भइरहेको भन्दै स्थानीयमा आक्रोश बढ्दै गएको छ ।

“धर्मशालाको नाममा पुस्तौँदेखि रहेको सार्वजनिक पोखरी र कुलो समाप्त पार्ने प्रयास भइरहेको छ । यो प्राकृतिक स्रोत र सार्वजनिक सम्पत्तिमाथिको खुला हस्तक्षेप हो,” एक स्थानीयले आक्रोश व्यक्त गर्दै भने ।

स्थानीयका अनुसार वडा अध्यक्ष मिश्रको हैकमवादी शैली र कानुन विपरीतका गतिविधिका कारण क्षेत्रमा असन्तुष्टि चुलिएको छ । सार्वजनिक सम्पत्ति संरक्षण गर्नुपर्ने जिम्मेवारीमा रहेका जनप्रतिनिधिबाटै सार्वजनिक जग्गा मास्ने कार्य हुनु दुर्भाग्यपूर्ण भएको उनीहरूको भनाइ छ ।

सरोकारवाला तथा स्थानीय बासिन्दाले तत्काल निर्माण कार्य रोक्न, घटनाको निष्पक्ष छानबिन गर्न तथा सार्वजनिक पोखरी र कुलोको संरक्षण गर्न सम्बन्धित निकाय, स्थानीय प्रशासन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सँग माग गरेका छन् । साथै दोषीमाथि कडा कानुनी कारबाही नगरिए जनआन्दोलनमा उत्रिने चेतावनी समेत स्थानीयले दिएका छन् ।

Back to top