वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. २६ का वडा अध्यक्ष शम्भु मिश्र ले निर्माणाधीन धर्मशाला जनताको सेवाका लागि निर्माण गरिएको बताएका छन् ।
वडा अध्यक्ष मिश्रले सार्वजनिक रूपमा उठाइएको विवादप्रति प्रतिक्रिया दिँदै धर्मशाला स्थानीय समुदायको सुविधा तथा सामाजिक कार्यका लागि निर्माण भइरहेको स्पष्ट पारे । उनले विकास निर्माणको कामलाई अनावश्यक रूपमा विवादित बनाउन खोजिएको आरोपसमेत लगाए ।
“धर्मशाला जनताको सेवा, धार्मिक तथा सामाजिक गतिविधिका लागि निर्माण गरिएको हो । यसमा कुनै व्यक्तिगत स्वार्थ छैन,” उनले भने ।
यसअघि वीरगञ्ज–२६ स्थित सार्वजनिक पोखरी र कुलो अतिक्रमण गरी धर्मशाला निर्माण गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका थिए । स्थानीयहरूले सरकारी नक्सामा पोखरी र कुलो उल्लेख रहेको सार्वजनिक जग्गामा माटो पुरेर संरचना निर्माण गरिएको आरोप लगाएका छन् ।
तर वडा अध्यक्ष मिश्रले भने निर्माण कार्य कानुनी प्रक्रिया तथा सम्बन्धित निकायको समन्वयमा भइरहेको दाबी गरेका छन् । उनले स्थानीयको भावना र सार्वजनिक हितलाई ध्यानमा राखेर काम भइरहेको उल्लेख गरे ।
धर्मशाला निर्माणको विषयलाई लिएर स्थानीय स्तरमा पक्ष–विपक्षमा बहस भइरहेका बेला सरोकारवालाहरूले निष्पक्ष छानबिन तथा स्पष्ट जानकारी सार्वजनिक गर्न माग गरेका छन् ।